काठमाडौँ ।

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा फेरबदल आएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी भेगमा बादल देखिन थालेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार देशभरको मौसममा केही परिवर्तन आउने देखिएको छ । सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ । तराईका अधिकांश भू–भागमा भने बिहानीपख हुस्सु र कुहिरोको प्रभाव रहनेछ । जसका कारण जनजीवन र यातायातमा सामान्य असर पर्न सक्ने सम्भावना छ ।

महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको संकेत गरेको छ । अन्य भू–भागको मौसम मुख्यतया सफा रहने भए पनि चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।