बाणगंगा । जनतालाई सेवा दिने जिम्मेवारी बोकेको बाणगंगा नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले आफ्नै विद्युत् महशुल नतिरेपछि कार्यालयको लाइन काटिएको छ । यस घटनाले स्थानीय तहमा सुशासन कति खोक्रो बन्दै गएको छ भन्ने गम्भीर प्रश्न उठाएको छ ।

स्थानीय स्रोतका अनुसार वडा कार्यालयले लामो समयदेखि विद्युत् महशुल नतिरेको कारण नेपाल विद्युत् प्राधिकरणले लाइन काट्नुपरेको हो । जनताबाट कर, दस्तुर र सेवा शुल्क नियमित असुल्ने कार्यालयले अनिवार्य महशुल नै नतिर्नु गैरजिम्मेवार प्रवृत्तिको चरम उदाहरण भएको स्थानीयको भनाइ छ ।

स्थानीयवासीहरू भन्छन्— “सामान्य नागरिकले दुई–चार महिना बिल नतिर्दा तुरुन्त लाइन काटिन्छ, तर जनप्रतिनिधि बसेको कार्यालयले तिर्न नपर्ने हो ?”

यस घटनाले वडा अध्यक्ष टेक बहादुर झेडी मगरसहित सम्बन्धित जनप्रतिनिधिहरूको कार्यशैली, आर्थिक अनुशासन र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ । सेवा प्रवाह गर्ने निकाय स्वयं अँध्यारोमा पर्नु केवल प्राविधिक समस्या नभई राजनीतिक र नैतिक असफलता भएको टिप्पणी हुन थालेको छ ।

निर्वाचनको मुखैमा आएको यस घटनालाई संयोग मात्र मान्न नसकिने भन्दै स्थानीयले अब मतदाताले नाराभन्दा काम, भाषणभन्दा व्यवहार र पार्टीभन्दा पात्र चिन्ने समय आएको बताएका छन् ।