कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक कडा र रोचक चुनावी प्रतिस्पर्धा हुने निश्चित देखिएको छ। अनुभवी नेतादेखि नयाँ राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारसम्म एकै मैदानमा उत्रिँदा क्षेत्र नम्बर १ को चुनावी माहोल तातिँदै गएको हो।

यस निर्वाचनमा नेपाली काँग्रेसबाट दुई पटक सांसद भइसकेका अत्तहर कमाल मुसलमान पुनः चुनावी मैदानमा छन्। आफ्नो अनुभव, पुरानो जनसम्बन्ध र संगठनात्मक पकडलाई आधार बनाउँदै मुसलमान चुनावी प्रतिस्पर्धामा होमिएका छन्।

नेकपा (एमाले) बाट संविधानसभा सदस्य भइसकेका विश्राम प्रसाद थारु एमालेको उम्मेदवारका रूपमा मैदानमा छन्। पार्टी संगठन, कार्यकर्ता परिचालन र विगतको राजनीतिक अनुभवलाई बल बनाउँदै एमालेले कपिलवस्तु–१ मा जित दोहोर्याउने रणनीति बनाएको देखिन्छ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट कृष्ण बहादुर कुँवर पनि चुनावी प्रतिस्पर्धामा छन्। वामपन्थी मतलाई एकीकृत गर्दै आफ्नो आधार जोगाउने प्रयासमा नेकपा रहेको छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अधिवक्ता मोहन आचार्य ले चुनावी प्रतिस्पर्धालाई नयाँ मोड दिएका छन्। ‘पुराना दलको विकल्प’ भन्दै मतदाता समक्ष उत्रिएका आचार्यले पछिल्लो समय उल्लेख्य चर्चा बटुलिरहेका छन्।

यसैगरी, स्वतन्त्र उम्मेदवार आशिष शर्मा ले घरदैलो अभियानलाई तीव्र बनाउँदै परम्परागत राजनीतिक दलहरूलाई सीधा चुनौती दिइरहेका छन्। युवापुस्ताको समर्थन र परिवर्तनको एजेन्डालाई अघि सार्दै शर्माले चुनावी माहोल तताएका छन्।

यससँगै राष्ट्रिय जनमोर्चाबाट माधव भाट क्षेत्री तथा मधेशवादी दलसहित अन्य साना दलका उम्मेदवारहरू पनि मैदानमा रहेका छन्। यद्यपि, चुनावी गतिविधि, जनचासो र सार्वजनिक बहसलाई हेर्दा मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेस, एमाले, नेकपा, रास्वपा र स्वतन्त्र उम्मेदवारबीचमै सीमित देखिन्छ।

दाबी, अनुभव, संगठन र परिवर्तनको चाहनाबीच कपिलवस्तु क्षेत्र नम्बर १ यसपटक निर्णायक राजनीतिक परीक्षणस्थल का रूपमा उभिएको छ।
अनुभव जित्छ कि विकल्प?पुरानै दोहोरिन्छ कि नयाँ इतिहास बन्छ? यसको अन्तिम फैसला भने फागुन २१ गते मतदाताले मतपेटिकामार्फत गर्नेछन्।