काठमाडौँ ।

घानाले अफ्रिकी मूलका मानिसहरूलाई नागरिकता दिने प्रक्रिया अस्थायी रूपमा स्थगित गरेको छ । प्रणालीलाई अझ सुलभ र प्रयोगकर्तामैत्री बनाउनका लागि अफ्रिकी डायस्पोराका सदस्यहरूका नागरिकता आवेदनहरू रोकिएको बीबीसीले जनाएको छ ।

सन् २०१६ देखि आफ्ना पुर्खाहरू अफ्रिकाबाट आएको प्रमाणित गर्न सक्ने व्यक्तिहरूले घानाको नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था लागू गरिएको थियो । पछिल्ला वर्षहरूमा अफ्रिकी–अमेरिकी गायक तथा गीतकार स्टीभी वन्डरसहित एक हजारभन्दा बढी व्यक्तिले घानाको नागरिकता प्राप्त गरिसकेका छन् ।

तर केही आवेदकहरूले नागरिकता प्राप्तिका लागि पूरा गर्नुपर्ने चरणहरूको संख्या धेरै भएको र लागत अत्यधिक रहेको भन्दै गुनासो गर्दै आएका छन् ।

घानामा बसाइँसराइमा सहयोग गर्ने डायस्पोरा अफ्रिकी फोरमकी राजदूत डा. एरिका बेनेटका अनुसार धेरै आवेदकहरूले आवेदन दिएको एक हप्ताभित्र डीएनए प्रमाण पेश गर्नुपर्ने प्रावधानप्रति असन्तुष्टि जनाएका छन् । उनका अनुसार अधिकांश आवेदकले समयसीमा निकै कम भएको बताएका छन् भने केहीले डीएनए परीक्षणको विश्वसनीयतामाथि समेत प्रश्न उठाएका छन् ।

यस्तै, आवेदन शुल्क १ सय ३६ अमेरिकी डलर र छनोट सूचीमा परेपछि थप १ हजार ७ सय डलर तिर्नुपर्ने व्यवस्थाका कारण पनि धेरैले लागतलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

डा. बेनेटले यी समस्याहरू समाधान हुने र नागरिकता आवेदन प्रक्रिया पुनः सुरु हुने विश्वास व्यक्त गर्नुभएको खबरमा उल्लेख छ ।

उल्लेखनीय रूपमा, बेनिन र सियरा लियोनजस्ता देशहरूले पनि प्रमाणित पुर्खा सम्बन्धका आधारमा अफ्रिकी मूलका मानिसहरूलाई नागरिकता प्रदान गर्दै आएका छन् ।