२० माघ, काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग तालमेलको सम्भावना नरहेको बताएका छन् ।

प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले २३ र २४ भदौका घटनामा एमाले र नेकपाको दृष्टिकोण नै फरक रहेकाले निर्वाचनमा तालमेल हुन नसक्ने बताएका हुन् ।

उनले भने, “तालमेलको गीत गाइरहने कुरा हो । तर अहिले तत्काल यसो तालमेल भइहाल्छ भन्ने सम्भावना म देख्दिनँ । फेरि पनि राजनीति असम्भव–सम्भवको खेल हो । दुई–चार दिनभित्रै परिस्थिति बनेर नेकपा र नेकपा एमालेबीच तालमेल हुन्छ कि भन्ने आशंका तपाईंलाई हुन सक्छ । तर यो हुँदै हुँदैन भनेर ठोकुवा गर्ने विषय पनि होइन ।”

गुरुङले भदौ २३ र २४ गते भएको घटनाबाट आएको परिवर्तनलाई एमालेले प्रतिगमन वा प्रतिक्रान्ति मानेको तर नेकपाले अहिलेसम्म त्यसलाई क्रान्तिकारी र लोकतान्त्रिक अभ्यास भनेको उल्लेख गरे । यही कारण दुबै पार्टीको राजनीतिक दृष्टिकोण उत्तर–दक्षिण जत्तिकै फरक रहेको उनको भनाइ छ ।

“उहाँहरूको डिपार्चर र पोलिसीको डिपार्चर र हाम्रो डिपार्चर एक–अर्काको विपरीत दिशामा छ । एन्टी–करेन्ट र एन्टी–डिक्लेसन गइरहेको देखिन्छ । त्यसकारण अहिलेको अवस्थामा तालमेलको सम्भावना म धेरै देख्दिनँ,” उनले भने ।

अहिले नेपाली कांग्रेसले पनि एक्लै चुनाव लड्ने घोषणा गरिरहेको अवस्थामा एमाले पनि एक्लै चुनावी प्रतिस्पर्धामा उत्रने गुरुङले बताए ।

उनले लोकतान्त्रिक व्यवस्थाप्रति एमाले र कांग्रेसजति प्रतिबद्ध नेकपा नभएको दाबी गरे । अराजकता, अस्थिरता र प्रतिगमन सच्याउनका लागि एमाले अघि बढ्ने भएकाले केही स्थानमा आवश्यकता अनुसार सीमित सहकार्य हुन सक्ने उनले बताए ।

त्यस्तै, उपाध्यक्ष गुरुङले केही पार्टी र व्यक्तिले आफूलाई नयाँ र अरूलाई पुराना भन्दै आरोप लगाउने गरेको उल्लेख गर्दै उनीहरूसँग कुनै ठोस एजेन्डा नरहेको बताए ।

कसैले आरोप लगाउँदैमा लामो इतिहास भएका पार्टीको सान्दर्भिकता समाप्त नहुने उनको भनाइ छ । उनले आगामी निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबीसमेत गरे ।