१८ माघ, काठमाडौँ ।

नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) स्थित कारागारमा रहेका २६७ जना नेपाली नागरिकलाई त्यहाँको सरकारले आममाफी दिएको जनाएको छ ।

यूएई सरकारले आफ्नो ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २६७ जना नेपाली बन्दीलाई आममाफी दिएको हो ।

नेपाल सरकारले यस आममाफीलाई नेपाल र यूएईबीचको आपसी सम्बन्ध, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् तथा मानवीय कदमको सराहना गरेको छ ।

परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटक–पटक गरेको अनुरोधको प्रत्युत्तरस्वरूप यूएई सरकारले उक्त आममाफीको निर्णय गरेको जनाइएको छ ।

आममाफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा त्यहाँको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनीहरू स्वदेश फर्कन सक्नेछन् ।