काठमाडौँ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ।

क्यानडाले जर्जियामा रहेको गल्फस्ट्रीम एयरोस्पेसका जेट विमानलाई प्रमाणीकरण गर्न अस्वीकार गरेको आरोप लगाउँदै ट्रम्पले बदला स्वरूप यस्तो कदम चाल्न सकिने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ।

सामाजिक सञ्जालमा गरिएको पोस्टमार्फत ट्रम्पले क्यानडाले आफ्नो निर्णय तुरुन्त सच्याएन भने अमेरिकामा बेचिने सबै क्यानडाली विमानमा उच्च कर लगाइने उल्लेख गर्नुभएको छ। साथै उहाँले बोम्बार्डियर कम्पनीका ग्लोबल एक्सप्रेस व्यापारिक जेटहरूको प्रमाणपत्र रद्द गर्ने प्रक्रिया अघि बढाइएको दाबी गर्नुभएको छ ।

उड्डयन विश्लेषण कम्पनी सिरियमका अनुसार हाल अमेरिकामा दर्ता भई सञ्चालनमा रहेका झन्डै १ सय ५० ग्लोबल एक्सप्रेस विमान छन्। यसअघि सन् २०१७ मा पहिलो ट्रम्प प्रशासनका बेला अमेरिकी वाणिज्य मन्त्रालयले बोम्बार्डियरमाथि अनुचित सरकारी अनुदान पाएको आरोप लगाउँदै शुल्क लगाएको थियो । तर पछि अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले क्यानडाली कम्पनीले अमेरिकी उद्योगलाई क्षति नपुर्‍याएको ठहर गरेको थियो ।