अर्घाखाँची ।
प्रतिनिधिसभा सदस्यको एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा दुर्गम बस्तीका अधिकांश मतदानस्थल अति संवेदनशील सूचीमा राखिएका छन् । जिल्लाका २ सय ९ मतदान केन्द्रमध्ये १०१ मतदानस्थल अति संवेदनशील, संवेदनशील र सामान्य श्रेणीमा छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईका अनुसार तीमध्ये ३७ मतदान स्थल अति संवेदनशील, ४० वटा संवेदनशील र २५ वटा सामान्य रहेको बताए ।

‘जहाँ भौगोलिक जटिलताको कारण मतदान स्थल कठिन छ, ती अति संवेदनशीलमा राखिएका छन्,’ उनले भने । ‘त्यस्ता स्थल शितगंगा नगरपालिकाका सिद्धारा, सिमलपानी, जलुके लगायतका क्षेत्रमा छन् । सदरमुकाम र सहज यातायात पहुँच भएका स्थलहरू सामान्यमा राखिएका छन् ।’

भट्टराईका अनुसार शितगंगाका अधिकांश क्षेत्रका बस्ती छरिएका छन् र घरभन्दा जंगल क्षेत्र बढी छ । मतदाताहरू घण्टौं पैदल हिँडेर मतदान स्थलमा पुगेर भोट हालिरहेका छन् ।

उनले भने, ‘सबै मतदान केन्द्रमा मतदातालाई सुरक्षित रूपमा घरबाट मतदान केन्द्रसम्म पुग्न सक्ने वातावरण सुनिश्चित गर्न थप सुरक्षा रणनीति अपनाइने छ ।’