१५ माघ, काठमाडौं ।
नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चुनावी गठबन्धन गर्नसमेत प्रचण्ड तयार नभएको बताएका छन् । पार्टी एकताका लागि आफूले प्रयास गर्दा पनि विप्लव तयार नभएको भन्दै प्रचण्डले दिएको अभिव्यक्तिको भोलिपल्ट विप्लवको यस्तो टिप्पणी आएको हो ।

‘आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग हुँदै आएको, थोत्रो भइसकेको, काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र हो,’ प्रचण्डलाई संकेत गर्दै विप्लवले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेपट्टीएका हुतिहारा मात्र पर्छन्,’ उनले थपेका छन् ।

विप्लव नेतृत्वको पार्टी नेकपा माओवादी परित्याग गरेका चिरञ्जीवी ढकालसहित केही नेतालाई नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गराउने क्रममा प्रचण्डले विप्लवलक्षित प्रतिक्रिया दिएका थिए ।

जेन्जी आन्दोलनपछि विप्लव राजनीतिक रूपमा ठूलो तुहिँलोभित्र हराएको टिप्पणी गर्दै प्रचण्डले इतिहासमा विरलै प्राप्त हुने अवसर विप्लवले गुमाएको बताएका थिए ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विप्लवले रोल्पाबाट उम्मेदवार बन्ने तयारी गरेका थिए । तर, रोल्पाबाट माओवादीले वर्षमान पुन ‘अनन्त’ लाई उम्मेदवार बनाएको छ ।

यसअघि विप्लव नेतृत्वको माओवादी पार्टीको स्थायी समिति बैठकले पार्टीको माथिल्लो तहमा रहेका नेताहरू निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको थियो ।

आफू उम्मेदवार बन्न लागेको क्षेत्रमा माओवादी गठबन्धन गर्नसमेत तयार नभएको संकेत गर्दै बुधबार विप्लवले प्रचण्डलाई जवाफ फर्काएका हुन् ।

यसअघि यी दुई पार्टीबीच एकताका लागि पटक–पटक छलफल भएको थियो । सोही क्रममा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत भदौ ९ गते हरिसिद्धीनिवास पुगेर विप्लवसँग छलफल गरेका थिए ।