काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) लाई एकता प्रक्रियामा आउन आग्रह गरेका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउन एकता आजको अपरिहार्य आवश्यकता भएको बताए ।

उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमीक्षा गर्दै मूलधारमा फर्किन आह्वान गरे । समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्दै दाहालले पछिल्लो पटक एकता लगभग टुंगिएको आफूले बुझेको भए पनि त्यो सफल हुन नसकेको बताए ।

जेनजी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको उनको टिप्पणी छ । जेनजी आन्दोलनपछि मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको जस्तो आफूलाई लागेको उनले बताए ।

आफूहरूले पनि आत्मसमीक्षा गर्दै एकताको बाटो रोजेको उल्लेख गर्दै प्रचण्डले विप्लव पक्षका लागि अझै अवसर बाँकी रहेको बताए । वास्तविक घर यही भएकाले यताउता भौंतारिएर केही नहुने उनको भनाइ थियो ।

आत्मसमीक्षा गरी एकताको प्रक्रियामा आए पुनः स्वागत गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै उनले भने,
‘म उहाँहरूलाई पनि अपिल गर्न चाहन्छु, तपाईंहरू पनि आत्मसमीक्षा गर्नुस् । तपाईंहरूको वास्तविक घर यही हो, आउनुपर्ने ठाउँ पनि यही हो । यता–उता गरिराख्नुभएको छ आजभोलि, त्यसले केही हुनेवाला छैन ।’

उनले थपे, ‘म गम्भीर ढंगले मेरो पुराना, सँगै बसेका कमरेडहरू हुनुको नाताले भन्न चाहन्छु, आत्मसमीक्षा गर्ने यो बेला हो । अझै पनि तपाईंहरूको पूरै अवसर गुमिसकेको छैन । आत्मसमीक्षा गरेर एकतामा आउनुभयो भने तपाईंहरूलाई स्वागत गर्न फेरि पनि हामी तयार छौँ ।’