काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभागले शुक्रबार र शनिबार मधेस प्रदेशबाहेक देशका अधिकांश स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म विभिन्न प्रदेशमा मौसम बदली रहनेछ ।

विभागले बिहीबार जारी गरेको सूचनाअनुसारः

१. कोसी प्रदेश का उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

२. मधेस प्रदेश मा वर्षाको सम्भावना छैन ।

३. बागमती प्रदेश का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

४. गण्डकी प्रदेश का थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।

५. लुम्बिनी प्रदेश का केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

६. कर्णाली प्रदेश का केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

७. सुदूरपश्चिम प्रदेश का केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम विभागले सचेत गराउँदै २०८२ माघ ९ गते (शुक्रबार) लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम हिमपात तथा वर्षा हुन सक्ने उल्लेख छ ।

त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा असिनासहितको मेघगर्जन तथा चट्याङको पनि सम्भावना रहेको विभागले जनाएको छ । यसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य, हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले विभागले दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनामा ध्यान दिन अनुरोध गरेको छ ।