४ माघ, काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् ।

शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट दिएको थियो । तर चर्को विरोधपछि पार्टीको निर्णय फेरिएको हो । लुम्बिनी इन्चार्ज रहेकी सचिव पद्या अर्यालले भनिन्, ‘पार्टीले विष्णुप्रसाद पौडेललाई रुपन्देही–२ कै उम्मेदवार बनाएको छ ।’

विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट चुनाव लड्न निश्चित भएपछि रुपन्देहीका पाँचै क्षेत्रका उम्मेदवार टुंगिएको छ । रुपन्देही–१ बाट दधिराम न्यौपाने, रुपन्देही–२ बाट विष्णुप्रसाद पौडेल, रुपन्देही–३ बाट बासुदेव घिमिरे, रुपन्देही–४ बाट सुनिता थथेर र रुपन्देही–५ बाट खिमलाल भट्टराई उम्मेदवार भएका छन् ।

विष्णुप्रसाद पौडेल रुपन्देहीबाटै उम्मेदवार बन्ने भएपछि पाल्पा–२ को उम्मेदवारबारे अर्को निर्णय लिनुपर्ने भएको छ । अर्यालले भनिन्, ‘कसलाई उम्मेदवार बनाउने भन्ने छलफल चलिरहेको छ, टुंगिएको छैन ।’

यो क्षेत्रबाट गत चुनावमा ठाकुर गैरेले जितेका थिए ।