कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ सिद्धिपुरमा अवस्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा शोभा अधिकारी थापा निर्वाचित हुनुभएको छ ।

शनिबार बाणगंगा नगरपालिका–४ ठाकुरापुरमा सम्पन्न सहकारीको १९औँ वार्षिक साधारण सभा तथा नवौँ अधिवेशनबाट थापा सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

यो समाचार तयार पर्दासम्म अधिवेशनबाट उपाध्यक्षमा शालिकराम शर्मा आचार्य, सचिवमा रुपनारायण श्रेष्ठ, सह–सचिवमा मनोज नेपाली र कोषाध्यक्षमा शिवप्रसाद सुवेदी निर्वाचित हुनुभएको छ । यस्तै, लेखा संयोजकमा कमलराम गौतम चयन हुनुभएको छ । सहकारीका व्यवस्थापक कृष्ण बन्जाडेका अनुसार कार्यसमितिलाई पूर्णता दिने तयारी अन्तिम चरणमा पुगेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा सहकारीका संस्थापक अध्यक्ष निरजंग अधिकारीले सहकारीले लामो समयदेखि बचतकर्ताको विश्वास जित्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले स्थानीय स्तरबाहिरबाट आएका केही सहकारीप्रति तत्कालै विश्वास गरेर बचत गर्दा करोडौँ रुपैयाँ ठगी भएको घटनातर्फ सचेत गराउँदै सहकारीहरूले शेयर सदस्यलाई केन्द्रविन्दुमा राखेर योजना तर्जुमा गरी कार्यान्वयन पक्ष मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । नव–निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै उहाँले सहकारीलाई नमुना बनाउने गरी अघि बढ्न आग्रह गर्नुभयो ।

विशिष्ट अतिथि तथा सहकारीका पूर्वअध्यक्ष टेकबहादुर शाहीले सहकारी अर्थतन्त्रको बलियो खम्बा भएकाले यसलाई सुदृढ बनाउने जिम्मेवारी सबैको भएको बताउनुभयो । उहाँले सहकारीले वर्षौँदेखि आर्थिक पारदर्शिता कायम गर्दै आएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्री, स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष घनश्याम घिमिरेलगायत वक्ताहरूले सहकारी क्षेत्रले वित्तीय परिचालनको ठूलो हिस्सा ओगटेको उल्लेख गर्दै मुलुकमा देखिएको तरलताको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँहरूले कृषि, पर्यटनलगायत नवीन क्षेत्रमा सहकारीले लगानी विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

खुला सत्र कार्यक्रमका अध्यक्ष शालिकराम भुसालले वार्षिक नीति तथा कार्यक्रम, सचिव शालिकराम आचार्यले प्रगति प्रतिवेदन, कोषाध्यक्ष नवराज पन्थले आर्थिक प्रतिवेदन र लेखा संयोजक नमुना पौडेलले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको व्यवस्थापक कृष्ण बन्जाडेले जानकारी दिनुभयो ।

कार्यक्रममा सर्वोत्कृष्ट कारोबारकर्ता, उत्कृष्ट बचतकर्ता, ऋणी, जेष्ठ नागरिक, एकल महिला, कृषक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।

खुला सत्र कार्यक्रम सहकारीका अध्यक्ष शालिकराम भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव शालिकराम आचार्यले गर्नुभएको थियो ।-waikhari