कपिलवस्तु ।
कपिलवस्तुमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तौलिहवा, कपिलवस्तुले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मायादेवी गाउँपालिका–४, बुलाकीचोक बस्ने ३६ वर्षीय अब्दुल कासिम मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको एक मोटरसाइकल चेकजाँच गर्ने क्रममा मुसलमानको साथबाट हेरोइनजस्तै देखिने सेतो चिल्लो पदार्थ बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको पदार्थको तौल ४३.७६ ग्राम (त्रिचालीस दशमलव छ्याहत्तर ग्राम) रहेको छ ।

साथै, अभियुक्तले प्रयोग गरेको मोटरसाइकलसमेत रीतपूर्वक बरामद गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि कपिलवस्तु जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।