दाङ, ८ पुष ।

लुम्बिनी प्रदेश सरकारले पुष १३ गते प्रदेशलाई औपचारिक रूपमा साक्षर प्रदेश घोषणा गर्ने भएको छ । प्रदेश सरकारले शिक्षा क्षेत्रमा हासिल गरेको उपलब्धिलाई आधार मानेर साक्षरता घोषणा गर्न लागेको हो ।

प्रदेश सरकारका अनुसार आवश्यक मापदण्ड पूरा भएपछि साक्षर घोषणा कार्यक्रम आयोजना गर्न लागिएको हो । घोषणासँगै प्रदेशभरका नागरिकलाई साक्षरतामा जोड्ने अभियानलाई थप प्रभावकारी बनाइने बताइएको छ ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ । साक्षरता घोषणा पछि निरन्तर सिकाइ, जीवनोपयोगी शिक्षा र डिजिटल साक्षरतामा जोड दिइने प्रदेश सरकारको योजना रहेको छ ।

प्रदेश सरकारले साक्षरता अभियानमा योगदान पुर्‍याउने शिक्षक, स्वयंसेवक तथा सम्बन्धित निकायलाई धन्यवाद ज्ञापन गर्ने तयारी पनि गरेको छ ।

सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आगामी दिनमा साक्षरता र सीपमूलक कार्यक्रमलाई जोडेर लैजाने बताए । उनले शिक्षा सुधारलाई पनि व्यापक बनाइने बताए ।

पत्रकारले मन्त्री तिमिल्सिनालाई आफ्नो जिल्लामा बढी बजेट छुट्याइएको भन्ने प्रश्न सोध्दा उनले जिल्ला वासीको संख्याभन्दा जिल्लाको अवस्था हेरेर बजेट विनियोजन गरिएको जवाफ दिएका छन् ।