कपिलवस्तु ।

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ ।

लुम्बिनी लायन्सले आज सार्वजनिक गरेको तालिकाअनुसार बाँके र बर्दियाबाट सुरु हुने टुर पुस १५ गते रुपन्देहीमा पुगेर सम्पन्न हुनेछ ।

तालिकाअनुसार पुस ५ गते नेपालगञ्जको बागेश्वरी मन्दिरदेखि गुलेरियासम्म तथा भन्सागढीदेखि कोहलपुरसम्म ट्रफी प्रदर्शन गरिनेछ । पुस ६ गते दाङको तुल्सीपुर–घोराही क्षेत्रमा टुर आयोजना हुनेछ ।

त्यस्तै, पुस ७ गते रुकुमको रुकुमकोटदेखि खलङ्गासम्म, पुस ८ गते रोल्पाको लिवाङदेखि सुलिचौरसम्म, पुस ९ गते प्युठानको भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्म र पुस १० गते विजुवार–बरुङ्लादेखि चकचके, दरभाङ तथा भालुवाङसम्म ट्रफी टुर सञ्चालन हुने जनाइएको छ ।

यसैगरी पुस ११ गते कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर–तौलिहवा–गोरुसिङ्गे क्षेत्रमा, पुस १२ गते अर्घाखाँचीको सुपादेउराली मन्दिरदेखि सन्धिखर्कसम्म, पुस १३ गते गुल्मीको तम्घासमा तथा पुस १४ गते पाल्पाको तानसेन बजारमा ट्रफी टुर आयोजना हुनेछ ।

पुस १५ गते नवलपरासीको बर्दघाट–सुनवल क्षेत्रमा तथा सोही दिन रुपन्देहीको भैरहवादेखि लुम्बिनीसम्म ट्रफी प्रदर्शन गरिने लुम्बिनी लायन्सले जनाएको छ ।

लुम्बिनी लायन्सका अनुसार पुस १६ गते बुधबार बुटवलको सिद्धबाबा मन्दिरदेखि ट्राफिक चोकसम्म ट्रफी टुर आयोजना गरिनेछ भने सोही दिन मेगा कन्सर्ट समेत हुने कार्यक्रम छ ।

एनपिएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । लुम्बिनीले यसअघि दोस्रो क्वालिफायरमा विराटनगर किङ्स र प्लेअफको एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो ।

एनपिएलको पहिलो संस्करणको उपाधि भने जनकपुर बोल्ट्सले जितेको थियो ।