काठमाडौँ ।

राजधानीमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज (शनिबार) हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि भिड्नेछन् ।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधिको प्रबल दाबेदारका रूपमा रहेको छ । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग पाँच विकेटले पराजित सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिँदैछ ।

गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स यसपटक जसरी भए पनि ट्रफी आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ ।

लिग चरणमा यी दुई टोलीबीच भएको भेटमा सुदूरपश्चिमले लुम्बिनीलाई सात विकेटले पराजित गरेको थियो ।

एनपीएलको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख, तेस्रोले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए ।