बाणगंगा, २१ मंसिर ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड हथौसाको १२औँ वार्षिक साधारण सभा शनिबार बाणगंगा–११ ओदारीस्थित सामुदायिक भवनमा सम्पन्न भएको छ ।

सहकारीका पदाधिकारी, सेयर सदस्य र कर्मचारीहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष लक्षीमा भट्टराईले सहकारीको सुदृढ व्यवस्थापनका लागि सदस्यहरूको सक्रियता र पारदर्शिता नै मुख्य आधार भएको बताइन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था बुटवलका अधिकृत निराजन निसादले ग्रामीण कृषकलाई वित्तीय पहुँचमा जोडेर उत्पादन वृद्धि गर्न सहकारीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । यस्तै, संस्थाका पूर्व सल्लाहकार सदस्य अम्बिका भट्टराईले सहकारी बिना स्थानीय आर्थिक समृद्धि सम्भव नहुने उल्लेख गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष टिका कुमारी क्षेत्रीले आगामी वर्षको नीतिगत तथा कार्यक्रमगत प्रस्ताव प्रस्तुत गर्दै सदस्यहरूको विश्वास र सहकार्यकै कारण संस्था अघि बढिरहेको बताइन् । उनले आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाइन् ।

यस्तै, सहकारीका सेयर सदस्य तथा बाणगंगा नगरपालिका–११ का वडा सदस्य इमकला केसी र दलित महिला सदस्य सावित्रा विकको आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्था प्रवन्धक माया पौडेल भट्टराईले आर्थिक प्रतिवेदन र लेखा संयोजक सिता पाण्डेले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित भएका छन् । सो अवसरमा सहकारीले असल बचतकर्तालाई सम्मान गर्नुका साथै, सदस्य परिवारका विद्यार्थीमध्ये एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, सफल कृषक तथा विभिन्न योगदान पु¥याउने व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष टिका कुमारी क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष मोहनी खनालको स्वागत मन्तव्य तथा प्रवन्धक माया पौडेल भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।