कपिलवस्तु, २१ मंसिर ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–२ मा महुवादुधार युवा क्लबको आयोजनामा दोस्रो संस्करणको महुवादुधार प्रिमियर लिग (एमपीएल) क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

स्थानीय स्तरमा प्रतिभा पहिचान र खेलकुदप्रति युवाहरूलाई आकर्षित गर्ने उद्देश्यसहित सुरु गरिएको प्रतियोगितामा १९ टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष समसाद खानले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई २५ हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । दोस्रो हुने टोलीले १२ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सांसद जानकी प्रसाद यादवले खेलले युवालाई विश्वस्तरमा परिचित गराउने अवसर प्रदान गर्ने बताए । खेलकुदले युवालाई अनुशासित, सक्रिय र समाजप्रति जिम्मेवार बनाउने उनले उल्लेख गरे ।

यस्तै, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले युवाहरूको पहलले खेलाडीको प्रतिभा उजागर हुने र प्रोत्साहित हुने बताए । उनले खेलकुदले एकता, सद्भाव र आर्थिक–व्यावसायिक महत्त्व बढाउने जिकिर गरे ।

यसैगरी वडा नम्बर २ का अध्यक्ष नेपाल चौधरीले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा विकास र भाइचारा वृद्धि हुने उल्लेख गर्दै आगामी दिनमा अझ ठूलो स्तरमा प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।