काठमाडौँ ।

नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य १ रुपैयाँ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले घटाएको मूल्य आजदेखि लागू भएको छ ।

निगमका अनुसार मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम गरिएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्गमा, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्गमा र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

यसैगरी निगमले हवाई इन्धनको मूल्य भने बढाएको छ । आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १३४ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानको लागि काठमाडौँमा प्रतिकिलोलिटर अमेरिकी डलर १,०१५ कायम गरिएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ ४४ पैसा घटेको र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसा बढेको बताइएको छ । निगमले यसैअनुसार खुद्रा बिक्री मूल्य समायोजन गरेको जनाएको छ ।