बुटवल ।

सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

गत हप्ता रवि पक्षका कानुनी व्यावसायीहरूले निवेदन दिएर सुनुवाइ स्थगित गरेका थिए । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले पनि आजकै लागि पेसी तोकिएको पुष्टि गर्दै भने– “गत हप्ता रोकिएको मुद्दामा आज पेसी तोकिएको छ, अब के हुन्छ हेर्नुहोस् ।”

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्ष आदेशका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनमध्ये आफूलाई तोकिएको बिगो रकम दाखिला गरे पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो । जिल्लाको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रविसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गर्दै अभियोगपत्र दायर गरिएको छ । लामिछानेले सो रकमको चार भागमध्ये आफ्नो भाग बराबर करिब २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतसहित पेस गरेका थिए ।

यस्तै, जोशीले पनि समान रकम जमानतका रूपमा पेश गरेका थिए । तर, दुवैजनाको हकमा उनीहरूको भागमा कति बिगो पर्छ भन्ने स्पष्ट नहुँदा अदालतले रिहा गर्न नमिल्ने निर्णय गरेको थियो ।

हाल रवि काठमाडौं कारागारमा तथा जोशी भैरहवा कारागारमा रहेका छन् ।