काठमाडौँ, २९ कात्तिक ।

जम्मु–कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी स्टेसनमा शुक्रबार मध्यराति भएको भीषण विस्फोटमा मृतकको संख्या ९ पुगेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार राति करिब ११:२० बजे भएको विस्फोटमा २९ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका छ ।

नौगाम प्रहरी स्टेसनमा भएको विस्फोट गत सोमबार दिल्लीको लालकिल्ला अगाडि भएको कार बममा प्रयोग गरिएको अमोनियम नाइट्रेटबाट गराइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

कश्मीर प्रहरी अधिकारीहरूले विस्फोटको शक्ति अत्यन्तै उच्च भएको बताउँदै मृतकहरूको पहिचान कठिन बनेको जानकारी दिएका छन् । धेरै शवको पहिचान प्रक्रिया अझै बाँकी रहेको छ । विस्फोटका कारण आसपास पार्क गरिएका धेरै कारमा समेत आगलागी भएको छ ।

केही दिनअघि कश्मीरमा एक डाक्टर पक्राउ परेका थिए । यस क्रममा जम्मु–कश्मीर प्रहरीले डा. मुजम्मिल गनाईको फरिदाबादस्थित भाडाको घरबाट ३६० किलोग्राम अमोनियम नाइट्रेटसहित ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको थियो ।

मृतकमध्ये धेरैजसो जम्मु–कश्मीर प्रहरी अधिकारी तथा अमोनियम नाइट्रेटसम्बन्धी अनुसन्धान गरिरहेका फोरेन्सिक टोलीका सदस्य रहेको जनाइएको छ ।

विस्फोटमा श्रीनगर प्रशासनका दुई स्थानीय अधिकारीको समेत मृत्यु भएको छ, जसमा एक नायब तहसिलदार पनि रहेका छन् ।