काठमाडौँ ।

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रभावका कारण कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने सम्भावना छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासहित हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।