मनोज पौडेल

कपिलवस्तु — जिल्लामा सरुवा भएर आएका प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई अहिले स्वागत थाप्न भ्याइ नभ्याइ छ । स्थानीय तह र निजी संघसंस्था धाउँदै दोसल्ला, खादा, फूल र डायरी लिन इन्स्पेक्टर तँछाडमछाड गरिरहेका छन् ।

शान्ति सुरक्षा सुदृढ गर्ने योजना बनाई कार्यान्वयन गर्नुपर्ने बेला नयाँ सरुवा भई आएका नेपाल प्रहरी र सशस्त्र प्रहरी निरीक्षक स्थानीय तह प्रमुख र अध्यक्षका कार्यकक्षमा पुग्दै स्वागत थाप्ने लहर चलेको हो । सशस्त्रका भन्दा नेपाल प्रहरीका इन्स्पेक्टर स्वागत थाप्न अगाडि देखिएका छन् । स्वागतका लागि प्रहरीको दौडधुप देख्दा स्थानीय स्तरमा निकै टीका–टिप्पणी पनि सुरु भएको छ ।

प्रहरी प्रधान कार्यालयले असोज २८ गते ६ सय ६५ इन्स्पेक्टरको सरुवा गरेपछि कपिलवस्तुमा पनि उनीहरू सरुवा भएका आएका हुन् । सबैभन्दा पहिले इप्रका, पिपराका निरीक्षक अर्जुन पौडेल वाणगंगा नगरपालिकामा स्वागत थाप्न पुगे । उनलाई नगर प्रमुख चक्रपाणी अर्यालले कार्तिक ११ गते आफ्नो कार्यकक्षमा स्वागत गरे । ५ दिन नपुग्दै फेरि उनै निरीक्षक पौडेल कार्तिक १६ मा उद्योग व्यापार संघ, जितपुरको स्वागत थाप्न पुगे ।

वडा प्रहरी कार्यालय, चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जिल्लाका दुई ठूला नगरपालिकामा स्वागत थाप्न भ्याए । पहिले उनी कार्तिक ९ गते शिवराज नगरपालिकामा स्वागत थाप्न गए । त्यहा उनलाई नगर प्रमुख अजय थापाले स्वागत गरे । फेरि ४ दिन नुपग्दै १३ गते उनी महाराजगन्ज नगरपालिकामा स्वागत थाप्न पुगे । त्यहाँ उनलाई नगर प्रमुख अब्दुल कलामले स्वागत गरे । त्यही दिन महाराजगन्ज नगरपालिकामा सशस्त्रको सुरक्षा बेसका निरीक्षक गंगाराम भट्ट पनि स्वागत थाप्न पुगेका थिए । भट्ट पनि नयाँ सरुवा भई आएका इन्स्पेक्टर हुन् ।

उता इप्रका गणेशपुरका प्रहरी निरीक्षक महेशकुमार आचार्य र इप्रका सुन्दरी डाँडाका प्रहरी निरीक्षक आदर्श गिरी पनि एकै समयमा विजयनगर गाउँपलिकामा स्वागत थाप्न पुगे । दुवै जना कार्तिक १४ गते गाउँपालिका पुगेपछि अध्यक्ष गोपाल थापा र उपाध्यक्ष लक्ष्मी चौधरीले स्वागत गरेका थिए । त्यसको एक दिनअघि विजयनगर गाउँपालिकामा सशस्त्रको बीओपी डालपुरका निरीक्षक सीताराम श्रेष्ठ पनि स्वागत थाप्न पुगेका थिए ।

जिल्लामा भर्खर सरुवा भएर आएका इन्स्पेक्टरलाई स्वागत गरिएका फोटो कतिपय नगरपालिकाको आधिकारिक फेसबुक पेज, नगर प्रमुख/अध्यक्षको फेसबुक वाल र कतिपयले त रिल बनाएर पनि पोस्ट्याएका छन् । कतिपय स्थानीय तहका प्रमुख/अध्यक्षले स्वागतको समाचार बनाउन आफ्ना अनुकूलका पत्रकारलाई फोटो र समाचार पनि पठाएका थिए ।

शान्ति सुरक्षाका विषयमा वस्तुस्थिति बुझेर योजना बनाई लागू गर्नुपर्ने बेला स्वागत थाप्न/बिदाइ गर्न हानथाप गर्ने कामले समाजमा नराम्रो सन्देश गइरहेको नागरिक समाज अध्यक्ष अर्जुन पोखरेलले बताए । ‘अलि बढी नै भएजस्तो देखिन्छ,’ उनले भने, ‘यस्तो कामदेखि सुरक्षाकर्मी टाढै बसेर मर्यादा कायम राख्नु पर्छ । यस्तो कामले प्रश्रय पाउँदा कन्फिल्क्ट अफ इन्ट्रेस्ट देखिन्छ ।’

प्रहरी पालिकाको स्वागत सम्मानका पछि लाग्नुभन्दा जनतासँग भावनात्मक सम्बन्ध गाँसेर अपनत्व लिन सक्नु नै ठूलो सम्मान हुने अधिकारकर्मी रवि ठाकुरले बताए । ‘जनतासँग प्रहरीको अपनत्व नहुँदा भदौ २३ र २४ मा जेनजी आन्दोलन र प्रदर्शनका बेला प्रहरीमाथिको ठूलो आक्रमण देखियो,’ उनले भने, ‘अब प्रहरी मेरो साथी भन्ने नारालाई साँच्चिकै अनुसरण गर्नुपर्ने बेला आएको छ ।’

जेन–जी आन्दोलनका बेला कपिलवस्तु कारागारबाट भागेका मध्ये १ सय ३४ जना कैदीबन्दी अझै फरार छन् । ‘फागुन २१ गते तोकिएको निर्वाचन उनीहरूकै कारण सुरक्षामा चुनौती थपिएको छ । फरार कैदीबन्दीलाई पक्राउ गर्ने र निर्वाचनको वातावरण बनाउन लाग्नुपर्ने बेला स्वागत सम्मान थाप्न हुल बाँधेर जानुले राम्रो सन्देश गएको छैन,’ नागरिक समाजका एक सदस्यले भने ।

स्थानीय सरकारका प्रमुखले बोलाएपछि गएर शिष्टाचार कायम गर्नु सामान्य कुरा भएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक सन्तोष आचार्यले बताए । ‘बोलाएको ठाउँमा आउन्न भन्न मिल्दैन,’ उनले भने, ‘स्वागतलाई पीआर मेन्टेनका रूपमा लिएका छौं ।’