१६ कात्तिक, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका वामपन्थी दलहरूको पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने भएको छ ।

आज बिहान बसेको माओवादी केन्द्रको सचिवालय बैठकले उक्त मितिमा काठमाडौंमा एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको नेता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार, माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपा (विप्लव) बाट विद्रोह गरेका चिरन पुन (मिलन सी) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकता घोषणा हुने तयारी भएको छ ।

एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राखिने सहमति भएको छ । राजनीतिक सिद्धान्तका रूपमा माओवाद हटाएर मार्क्सवाद–लेनिनवाद मात्र रहने व्यवस्था गरिएको छ ।

एकता प्रक्रियामा रहेका दलका नेताहरूले घोषणा पछि निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिने तयारी गरेका छन् । आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने समयसीमा तोकेको छ ।