बुटवल ।

रुपन्देहीमा उद्योगहरूमा गरिएको विद्युत् कटौतीको विरोधमा आयोजित कार्यक्रममा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीका १३ वटा उद्योगको लाइन काटेपछि सुरु भएको उद्योगीहरूको आन्दोलनमा सहभागी भएका गौतम बिहीबार दिउँसो भाषण गर्दै गर्दा अचानक ढलेका थिए ।

उनी बेहोस भएपछि तुरुन्तै उपचारका लागि तिलोत्तमा नगरपालिकास्थित मणिग्रामको क्रिमसन अस्पताल लगिएको थियो । तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन् ।

एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले गौतमको निधन भएको पुष्टि गरेका छन् । उनका अनुसार, गौतमले कार्यक्रममा सम्बोधन गर्दै सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाएका थिए । उनले श्रमिकहरूलाई एकजुट भएर आन्दोलनमा उत्रिन आह्वान गर्दै गर्दा बेहोस भई ढलेका थिए ।

बुटवल उपमहानगरपालिका–३, लक्ष्मीनगर निवासी गौतम लामो समयदेखि जिफन्टको नेतृत्वमा सक्रिय थिए । हाल उनको शव क्रिमसन अस्पतालमा राखिएको छ भने उद्योगी, व्यवसायी र विभिन्न श्रमिक संगठनका प्रतिनिधिहरू अस्पताल परिसरमा उपस्थित रहेका छन् ।