कपिलवस्तु । कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सिडियो० दिलकुमार तामाङलाई आज एक विशेष समारोहका बीच बिदाइ गरिएको छ ।कपिलवस्तु जिल्लाका विभिन्न स्थानीय तहका प्रमुखहरूको संयुक्त पहलमा आयोजित कार्यक्रममार्फत सिडियो तामाङलाई सम्मानपूर्वक बिदाइ गरिएको हो ।

तामाङले जिल्लामा करिब सात महिना सेवा गर्दै रहँदा प्रशासनिक समन्वय, शान्ति सुरक्षा र विकासका विषयमा प्रभावकारी नेतृत्व प्रदान गरेको भन्दै सहभागीहरूले उच्च प्रशंसा गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, बुद्धभुमी नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठ, महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, शिवराज नगरपालिकाका प्रमुख अजय थापा, बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा लगायतका जनप्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।

सहभागी वक्ताहरूले तामाङको कार्यकाल छोटो भए तापनि जिल्लाको समन्वय, प्रशासनिक पारदर्शिता र आपतकालीन व्यवस्थापनमा उहाँको योगदान महत्वपूर्ण रहेको उल्लेख गरेका थिए ।कार्यक्रममा सिडियो तामाङले कपिलवस्तुमा प्राप्त सहयोग, साथ र माया प्रति आभार व्यक्त गर्दै आगामी जिम्मेवारीमा पनि जनताको विश्वास र अपेक्षा पूरा गर्न प्रतिबद्ध रहने बताएका थिए ।