११ कात्तिक, काठमाडौं ।

अमेरिका र जापानले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री सनेई तकाइचीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

दुई देशबीच हस्ताक्षर भएको पहिलो सम्झौताले अमेरिका–जापान सम्बन्धको नयाँ ‘गोल्डन एज’ अर्थात् सुनौलो युगको सुरुवातलाई संकेत गर्दछ । दोस्रो सम्झौता भने महत्वपूर्ण खनिजसँग सम्बन्धित छ ।

बीबीसीमा प्रकाशित समाचारअनुसार, पहिलो सम्झौता लामो समयदेखि सहयोगी रहेका दुवै देशबीचको साझेदारीलाई अझ मजबुत बनाउने उद्देश्यले गरिएको हो । अर्को महत्वपूर्ण खनिज सम्बन्धी सम्झौताले दुर्लभ खनिजको आपूर्ति सुनिश्चित गर्नका लागि आवश्यक ढाँचा प्रदान गर्दछ ।

सम्झौतामा हस्ताक्षरपछि राष्ट्रपति ट्रम्पले जापानको उच्च सराहना गर्दै उसलाई अमेरिकाको दृढ र विश्वासिलो सहयोगीको रूपमा चित्रित गरे । उनले जापानकी पहिलो महिला प्रधानमन्त्री सनेई तकाइचीको नेतृत्व र योगदानको पनि प्रशंसा गरे ।