काठमाडौं, ९ कात्तिक ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपाल पराजित भएको छ । लिग–२ को १५औं सिरिज अन्तर्गत युएईको दुबईमा भएको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले हार बेहोरेको हो ।

स्पिनर हर्मित सिंहको सानदार बलिङ प्रदर्शनपछि अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९.१ ओभरमा १५६ रनमा अलआउट भयो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए । आसिफ शेखले ३७ रन जोडे भने भिम शार्कीले २९ र आरिफ शेखले २० रनको योगदान दिए ।

नेपाललाई अलआउट गराउने क्रममा अमेरिकाका हर्मित सिंहले ८.१ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर ६ विकेट लिएका थिए ।

त्यसअघि, दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियो ।

अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ७५ रन बनाए । १०० बल खेलेका उनले ९ चौका प्रहार गरे । त्यस्तै, मिलिन्द कुमारले ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ७० रन जोडे । साइतेजा मुक्काकालाले ५८ बलमा ३ चौका र १ छक्कासहित ४२ रनको योगदान गरे ।

४८ रनमा २ विकेट गुमाएपछि स्मित पटेल र साइतेजाले तेस्रो विकेटका लागि ९५ रनको महत्वपूर्ण साझेदारी गरे । यी दुई ब्याटर क्रिजमा रहँदा अमेरिकाले ठुलो स्कोर बनाउने संकेत देखाएको थियो ।

तर, स्मित पटेल ३३औं ओभरमा रनआउट भए र साइतेजा ३५औं ओभरमा आउट भएपछि अमेरिका केही दबाबमा परेको थियो ।
तर मिलिन्द कुमारले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई सशक्त स्कोरसम्म पुर्‍याए ।

अमेरिकाले अन्तिम दुई ओभरमा ३२ रन थपेको थियो । नेपालका बलरहरू मध्ये सन्दीप लामिछानेले २ विकेट, भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।