काठमाडौँ ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब एमिरेट्स (यूएई) सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज (आइतबार) नेपाल र अमेरिका भिड्दै छन् ।

यूएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

नेपाल रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ भने अमेरिकाको कप्तानी मोनांक पटेलले सम्हाल्नेछन् । सिरिजको दोस्रो खेलमा नेपालले यूएईविरुद्ध प्रतिस्पर्धा गर्नेछ । शनिबार पुनः अमेरिकासँग र आगामी बुधबार यूएईसँग खेल्ने तालिका रहेको छ ।

आईसीसी विश्वकप लिग–२ मा नेपालले अहिलेसम्म १६ खेल खेलेको छ । तीमध्ये पाँच खेलमा जित, नौ खेलमा हार र दुई खेल बराबरी गर्दै नेपाल १२ अंकसहित अंक तालिकाको सातौँ स्थानमा रहेको छ ।

समान खेल खेलेको यूएईले तीन खेलमा जित र १३ खेलमा हार भोग्दै जम्मा छ अंक जोडेको छ । यूएई हाल अंक तालिकाको पुछारमा छ ।

लिगका २० खेल खेलेको अमेरिकाले १४ खेलमा जित र छ खेलमा हार भोग्दै २८ अंकसहित दोस्रो स्थान ओगटेको छ ।