काठमाडौँ ।

छठ पर्वको दोस्रो दिन बर्तालुहरू आज ‘खरना’ विधिको तयारीमा व्यस्त छन् । शनिबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व प्रारम्भ गरेका बर्तालु आज पञ्चमी तिथिमा ‘खरना’का लागि तयारी गर्दैछन् ।

बर्तालुले सूर्योदयअघि पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बस्ने गर्छन् । राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने परम्परा मिथिलामा प्रचलित छ । दिनभरको निराहार उपवासपछि देवीलाई चढाएको खिरलाई प्रसादस्वरूप ग्रहण गर्ने चलन छ । यसै विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ पर्व श्रद्धा र आस्थासहित मनाइँदै आएको छ ।

छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिन बर्तालुले आत्मशुद्धिका लागि उसिना चामल, लसुन, प्याज, कोदो, मुसुरो आदिजस्ता धार्मिक अनुष्ठानमा अशुद्ध मानिने खाद्य सामग्री सेवन गर्दैनन् । मैथिली भाषामा ‘अर्बा’ (नउसिनिएको अन्न) खाने यो विधिलाई ‘अर्बा–अर्बाइन’ भनिन्छ । ‘नहाय–खाय’ र ‘अर्बा–अर्बाइन’ एकअर्कासँग जोडिएका विधि हुन् ।

श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई विशेष महत्व दिइने ‘खरना’का दिन बर्तालुले दिनभर उपवास बसेर बेलुकी चन्द्र दर्शनपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाउँछन् । त्यस खिरलाई केराको पातमा राखी छठी मातालाई चढाएर प्रसादका रूपमा ग्रहण गर्ने चलन छ ।

आज दिनभर उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्र दर्शन गरेर यो विधि सम्पन्न गर्नेछन् । ‘खरना’लाई आत्मसंयम, पवित्रता र पाप नाशको प्रतीकका रूपमा लिने परम्परा छ । मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्णका अनुसार ‘खरना’ आत्मशुद्धि र स्वधर्म पालनको प्रतीक हो ।

पर्वको मुख्य विधि मानिने निराहार व्रत कात्तिक शुक्ल षष्ठीका दिन गरिन्छ, जुन भोलि सोमबार पर्छ । यस दिन बर्तालुले जलाशयमा गई अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्छन् । मिथिलामा यसलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।

त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्वको समापन गर्छन् । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । बर्तालुले खरनाका दिन प्रसादस्वरूप खिर खाएपछि नै निराहार व्रत आरम्भ हुन्छ, जुन सप्तमीका बिहान अर्घ्य दिएपछि समाप्त हुन्छ ।

छठ पर्वमा तयार गरिने प्रसाद — ठकुवा, भुसुवा लगायतका मिष्टान्न परिकार आफन्तजनलाई घरमै बोलाएर ख्वाउने वा नातेदारकहाँ पुर्‍याउने मैथिल परम्परा रहिआएको छ । अर्घ्यका लागि बनाइने मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको वा पिसिएको पीठोबाटै तयार पारिन्छ ।

अर्घ्य दिने जलाशय किनारमा सरसफाइ र सजावटलाई विशेष महत्व दिइन्छ । आकर्षक घाट निर्माण गरी धार्मिक सौन्दर्य झल्काउने परम्परा मिथिला क्षेत्रमा प्रचलित छ ।

केही वर्षअघि मधेसी मूलका हिन्दू समुदायले मात्रै मनाउने यो पर्व अहिले पर्वते मूलका हिन्दू र अन्य धर्मावलम्बीले पनि धुमधामका साथ मनाउन थालेका छन् । यसरी सबै धर्म, संस्कृति र वर्गको सहभागितामा मनाइने छठ पर्व अहिले साझा पर्वको रूपमा स्थापित भएको छ ।

रामनन्दन महेन्द्र विश्वेश्वर क्याम्पस, जलेश्वरका प्राचार्य अजयकुमार झालका अनुसार छठ पर्व अब मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनिसकेको छ ।