बुटवल, कार्तिक ३

तिहार मनाउन घर जान हिँडेका एक युवकको बुटवलमा बसको ठक्करबाट मृत्यु भएको छ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–७ बडसुदुवाका ३५ वर्षीय दिनेश यादवको सोमबार बिहान बसको ठक्करबाट मृत्यु भएको हो ।

लुम्बिनी बस टर्मिनलबाट निस्कने क्रममा नारायणगढतर्फ जाँदै गरेको लु २ ख ४०९७ नम्बरको बसले यादवलाई टर्मिनलको मुख्य गेट नजिक ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बुटवलमा पेन्टिङको काम गर्दै आएका यादव तिहारको बिदा भएपछि घर फर्किन बिहानै बसपार्क गइरहेका बेला दुर्घटनामा परेका थिए ।

घटनापछि उनलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो तर चिकित्सकले मृत घोषित गरेका थिए । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।