काठमाडौँ, २ कात्तिक ।

इजरायलमा हमास आक्रमणका क्रममा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव भोलि (सोमबार) नेपाल ल्याइने भएको छ ।

परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार जोशीको शव फ्लाई दुबई एयरलाइन्समार्फत काठमाडौँ ल्याउने तयारी गरिएको छ । विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो अवतरण गर्ने तालिका तय गरिएको मन्त्रालयले जनाएको छ ।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थितिमा विशेष समारोह आयोजना गर्ने तयारी पनि गरिएको छ ।

कञ्चनपुरका जोशी सन् २०२३ अक्टोबर ७ मा इजरायलको किबुत्ज क्षेत्रमा अध्ययनका सिलसिलामा रहेका बेला हमासको आकस्मिक आक्रमणका क्रममा बन्धक बनाइएका थिए । त्यसयता उनको अवस्था अज्ञात रहँदै आएको थियो । पछिल्लो असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता तथा बन्दी साटासाट प्रक्रियाका क्रममा हमासले विपिनको भएको आशंकामा एक शव इजरायली पक्षलाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षण र फरेन्सिक जाँचपछि उक्त शव विपिनकै भएको पुष्टि भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

फरेन्सिक प्रतिवेदनअनुसार विपिनको अपहरणपछि केही समयमै मृत्यु भएको निष्कर्ष निकालिएको छ ।