काठमाडौँ, १ कात्तिक ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा आज बिहान भएकाे सवारी दुर्घटनामा बस, ट्रक र अन्य सवारीसाधनसहित सात वटा सवारी एकआपसमा ठोक्किँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार दुर्घटना आज बिहान ७ः३० बजे भएको हो ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ७४२० नम्बरको बस एकआपसमा ठोक्किएपछि पछिपछि आएका अन्य पाँच सवारी साधनहरू पनि ठोक्किएका हुन् ।

बसको पछाडि रहेका ना ७ ख ९६०७ नम्बरको टेलर, बा प्र ०६–००१ ग ०४८४ नम्बरको इलेक्टिक माइक्रो, ग २ ख १६२६ नम्बरको अर्को बस, ना ३ च ३२५६ नम्बरको बलेरो र बिएबी ८४७० नम्बरको कार पनि दुर्घटनामा संलग्न भएका छन् ।

दुर्घटनामा परी घाइते भएका २० भन्दा बढी यात्रुहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।

जसमध्ये १३ जना नेशनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेजमा र अन्य चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।