काठमाडौं ।

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत अन्तिम खेलमा नेपालले आज सामोआसँग प्रतिस्पर्धा गर्दैछ । हालसम्म अपराजित रहेको नेपालले सामोआलाई हराउन सकेमा ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा उपाधि जित्नेछ ।

नेपाल र सामोआबीचको खेल ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न सवा ४ बजेदेखि सुरु हुनेछ । सामोआ भने सुपर सिक्स चरणमा अहिलेसम्म जितविहीन छ ।

यो छनोट प्रतियोगिताबाट नेपाल, युएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपको टिकट प्राप्त गरिसकेका छन् ।

नेपालले समूह चरणमा कुवेत र जापानलाई पराजित गरेको थियो । सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रनले हराएको नेपालले दोस्रो खेलमा कतारलाई ५ रनले र तेस्रो खेलमा ओमानलाई ३८ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ ।