अर्घाखाँची । आज बेलुका करिब ५:२० बजे गुल्मी र अर्घाखाँचीको सिमाना नजिक छत्रदेव गाउँपालिका–१ सौरेखोलामा दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

खर्ज्याङबाट दुर्गाफाटतर्फ जाँदै गरेको लु ३३ प ६५४४ नं. को होण्डा साइन र विपरित दिशाबाट आएको लु ५८ प ७९७८ नं. को यमाह कम्पनी १५० सि.सि. मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा अर्घाखाँची पाणिनी गाउँपालिका–५ मैदान बस्ने २१ वर्षीय तारा बेलबासे र गुल्मी छत्रकोट गाउँपालिका–६ दौघा मोहोरे बस्ने ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू दुवै मोटरसाइकल चालक थिए।

मोटरसाइकलमा पछाडि सवार पाणिनी–५ का १८ वर्षीय दिपा कोईराला र छत्रकोट–६ का ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएका छन्। उनीहरूको टाउकोमा चोट लागेको र अवस्था गम्भीर भएकाले थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज, पाल्पा रिफर गरिएको छ।