२७ असोज, काठमाडौं ।

सोमबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै समूहगत सूचकहरूमा वृद्धि भएको छ । नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७ मा पुगेको छ । कारोबार खुल्दा केही उतारचढाव देखिएको बजारले साढे १२ बजेपछि भने स्थिर रूपमा वृद्धि लिएको देखिएको हो ।

समग्र बजार उकालो लाग्दा कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ । दुई सय कम्पनीको शेयरमूल्यमा वृद्धि हुँदा ४४ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

अन्य समूह सबैभन्दा धेरै ५.०१ प्रतिशतले बढेको छ । बैंकिङ समूह ०.२८, विकास बैंक १.४१, फाइनान्स १.०२, होटल तथा पर्यटन ३.३५, हाइड्रोपावर २.१०, लगानी २.२७, जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.४४ तथा व्यापार समूह २.८१ प्रतिशतले बढेका छन् ।

नेपाल माइक्रोइन्स्योरेन्स, नेपाल पुनर्बीमा र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले वृद्धि भएको छ । इमर्जिङ नेपालको ९.९, एनआरएन इन्फ्रास्ट्रक्चरको ९.८, बुटवल पावरको ८.९८ र सीईडीबी होल्डिङ्सको ८.४५ प्रतिशतले मूल्य बढेको छ ।

त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकको ५.२६, थ्रीस्टार हाइड्रोपावरको ४.४५ र समता लघुवित्तको ३.५३ प्रतिशतले मूल्य घटेको छ । आज धेरै कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन् ।