काठमाडौं ।
इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका नेपाली नागरिक विपिन जोशी जीवित नरहेको पुष्टि इजरायली सेनाका एक अधिकारीले गरेका छन् ।

इजरायली रक्षा बल (आईडीएफ) का एक अधिकारीले इजरायलको स्थानीय समयअनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।

उक्त जानकारी इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई भिडियो कन्फरेन्समार्फत दिइएको राजदूत पण्डितले बताएका छन् ।

अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै राजदूत पण्डितले भने, “आईडीएफका अधिकारीले हामीलाई ‘विपिन इज नो मोर’ भने ।”

अमेरिकाको पहलमा इजरायल र हमासबीच युद्धविराम भएको सन्दर्भमा आज हमासको नियन्त्रणमा रहेका जीवित तथा मृतक बन्दीहरू रिहा गर्ने कार्यक्रम तय भएको छ । तर, आज सार्वजनिक गरिएका २० जनाको सूचीमा विपिनको नाम छैन ।

अध्ययनको सिलसिलामा इजरायल गएका कञ्चनपुरका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । हमासका लडाकुहरूले विपिनलाई अपहरण गरी साथमै लगेको पुष्टि भएको थियो ।

सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजाको अल शिफा अस्पतालमा देखिएका थिए । त्यसपछि भने उनको अवस्था अज्ञात रह्यो । गत बुधबार साँझ विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो ।

विपिनको अवस्थाबारे जानकारी लिन सरकारको पहलमा उनकी आमा र बहिनी यसअघि इजरायल गएका थिए । पछि उनीहरू अमेरिकातर्फ गएका हुन् ।

विपिनको अवस्थाबारे जानकारी ल्याउने सरकारी कूटनीतिक प्रयास जारी रहे पनि त्यसमा ठोस प्रगति भने देखिएको थिएन ।