२७ असोज, काठमाडौं ।

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्नेछ ।

खेल ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका ८:४५ बजे सुरु हुनेछ ।

नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईलाई १ रनले हराउँदै रोमाञ्चक जित निकालेको थियो । त्यो जितसँगै नेपालले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको छ । आजको खेलमा पनि नेपाल लगातार जितको लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ ।

दोस्रो तर्फ, कतारले सुपर सिक्सको आफ्नो पहिलो खेलमा ओमानसँग पराजय बेहोरेको थियो । अंकविहीन कतारका लागि आजको खेल निर्णायक बन्न सक्छ ।

नेपाल र कतारबीच यसअघि वार्म अप खेल पनि भएको थियो, जसमा नेपालले १६ रनको जित निकालेको थियो ।

टी–२० अन्तर्राष्ट्रियमा यी दुई टोलीबीच अहिलेसम्म ३ पटक भिडन्त भएको छ । जसमा नेपालले २ खेल जितेको छ भने कतारले १ खेल आफ्नो पक्षमा पारेको छ ।

नेपालले सुपर सिक्स चरणमा अबको खेलहरूमा बुधबार सामोआ र शुक्रबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।