काठमाडौँ ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गाजाबाट बन्धकहरूलाई मुक्त गराउन इजरायल प्रस्थान गरेका छन् । उनले गाजामा युद्ध समाप्त भएको घोषणा गरेका छन् ।

एयर फोर्स वन (अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान) मा यात्रा गरिरहेका ट्रम्पले विमानमै रहेका पत्रकारहरूसँग कुराकानी गर्दै, गाजामा युद्धविराम कायम रहेको र चाँडै शान्ति बोर्ड गठन गरिने बताएका हुन् ।

हमासले इजरायली बन्धकहरूलाई रिहा गर्नका लागि स्थानीय समयअनुसार सोमबार दिउँसो १२ बजेसम्मको अल्टिमेटम पाएको छ ।

इजरायल पुगेपछि ट्रम्पले इजिप्टको यात्रा गर्ने कार्यक्रम रहेको छ, जहाँ उनले विभिन्न मुलुकका नेताहरूसँग गाजाको स्थितिबारे छलफल गर्नेछन् ।

“हामी सबैलाई खुसी बनाउनेछौं चाहे तिनीहरू यहुदी, मुस्लिम वा अरब देशका हुन्,” ट्रम्पले भने, “इजरायलपछि हामी इजिप्ट जाँदै छौं । त्यहाँ हामी धेरै शक्तिशाली, ठूला र धनी देशका नेताहरूसँग भेट्नेछौं ।”

बेलायतका प्रधानमन्त्री कियर स्टारमर पनि इजिप्ट पुगेका छन् र उनी पनि उक्त बैठकमा सहभागी हुनेछन् ।

गाजामा रहेको बन्धक मामिला नेपालका लागि पनि अत्यन्त संवेदनशील रहेको छ, किनभने नेपाली नागरिक विपिन जोशी पनि अहिलेसम्म हमासको कब्जामा रहेको आशंका छ ।

उनको बारेमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले फरक फरक जानकारी दिएका छन् । कतिपयले उनलाई अज्ञात अवस्थाका बन्धक भनेर उल्लेख गरेका छन् भने केहीले जीवित बन्धकको सूचीमा उनको नाम समावेश गरेका छन् ।