काठमाडौँ ।
आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा आज (आइतबार) नेपाल र चिरप्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) भिड्दै छन् । खेल ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुनेछ, जसको सुरुवात नेपाली समयअनुसार दिउँसो सवा ४ बजे हुनेछ ।

विश्वकप छनोटमा सुपर सिक्स चरणको शीर्ष ३ टोलीले सन् २०२६ मा हुने टी–२० विश्वकपमा स्थान बनाउने भएकाले आजको खेल नेपाल र यूएई दुवैका लागि निर्णायक र महत्त्वपूर्ण बन्न गएको छ ।

नेपाल सुपर सिक्समा समूह बीको विजेताका रूपमा प्रवेश गरेको हो भने यूएई समूह एको विजेताका रूपमा अघि बढेको हो । सुपर सिक्समा नेपाल, यूएई र ओमानको समान २–२ अंक रहेको छ, तर नेट रनरेटको आधारमा नेपाल अग्रस्थानमा छ ।

नेपाल र यूएईबीचको प्रतिस्पर्धा एसोसियट क्रिकेटमा ‘एल क्लासिको’ भनेर समेत चिनिन्छ, जसले गर्दा आजको खेलमा अतिरिक्त रोचकता थपिएको छ ।

समूह चरणमा नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले र दोस्रो खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान बनाएको हो ।
सुपर सिक्स अन्तर्गत नेपाल अब यूएई, ओमान, कतार र सामोयासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले जापानलाई समूह चरणमै हराइसकेको हुँदा सुपर सिक्समा जापानसँग खेल्ने छैन । आजको खेलमार्फत नेपालले यूएईलाई पराजित गर्दै विश्वकप सम्भावना थप बलियो बनाउने लक्ष्य राखेको छ ।