२२ असोज, काठमाडौं

ओमानमा आजदेखि सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया पेसिफिक रिजनल फाइनलको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने यो खेल नेपाली समयअनुसार बेलुका ८:४५ बजे सुरु हुनेछ।

टी-२०आई क्रिकेटमा नेपाल र कुवेत बीच हालसम्म ३ पटक भेट भइसकेको छ। ती मध्ये नेपालले २ खेल जितेको छ भने कुवेतले १ खेल जितेको छ । पछिल्लो पटक, नेपाल र कुवेत यसै वर्ष अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा दुईपटक भिडेका थिए। लिग चरणमा नेपालले कुवेतलाई हराएपनि, फाइनलमा कुवेतले नेपाललाई हराएको थियो ।

आजको खेल जित्ने टोलीको सुपर सिक्समा पुग्ने सम्भावना लगभग निश्चित हुनेछ। नेपाललाई कुवेतले यसअघि हराइसकेको हुँदा, कुवेतलाई कमजोर आँक्न भने उपयुक्त हुनेछैन ।

यो प्रतियोगितामा ९ टोली सहभागी हुनेछन्, जसबाट ३ टोलीले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी-२० विश्वकपको टिकट पाउने छन् ।

यस पटक टी-२० विश्वकप छनोटको एसिया क्षेत्रको संरचना केही फरक भएको छ । अब एसिया मात्र नभएर, इस्ट एसिया पेसिफिक (इएपी) समेत समावेश गरेर टी-२० विश्वकप एसिया एण्ड इएपी छनोटको नाममा यो प्रतिस्पर्धा आयोजना हुँदैछ ।

नेपालको टोली:
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी