काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने निर्णय गरेको छ । सोमबार पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै पार्टीको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, “हामीले चुनावमा जाने निर्णय गरेका छौँ । यो विषयमा अरू पार्टीहरूसँग पनि छलफल गर्छौँ ।”

संयोजक प्रचण्डले सबै राजनीतिक दलले निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा माओवादी केन्द्र रहेको स्पष्ट पारे ।

उनले भने, “हामी कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिबाट निर्णय भइसकेको छ । हामी घोषित मितिमै निर्वाचन हुनुपर्छ र सबै दलको सहभागिता आवश्यक छ भन्ने मान्यतामा छौँ ।

हाम्रो पार्टी सक्रिय रूपमा निर्वाचनमा सहभागी हुनेछ । अहिले अन्य राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको छ । केही समयपछि त्यसको परिणाम देखिनेछ ।”