काठमाडौं ।

अहिले पनि देशका विभिन्न स्थानमा वर्षा जारी छ । यसैबीच मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो र राति कहाँ कति वर्षा हुन सक्ने सम्भावना रहेको छ भन्ने विषयमा जानकारी दिएको छ ।

महाशाखाले आज दिउँसो कोशी प्रदेश र मधेस प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहने जनाएको छ । बागमती र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी स्थानहरूमा आंशिक बदली रहनेछ । कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने ती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने महाशाखाले उल्लेख गरेको छ ।

रातिको समयको लागि महाशाखाले कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी क्षेत्रमा सामान्य बदली रहने अनुमान गरेको छ । अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । ती प्रदेशहरूका पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ ।

मौसम महाशाखाका अनुसार ‘दिउँसो’ शब्दले बिहानदेखि साँझ ६ बजेसम्मको अवधिलाई जनाउँछ भने ‘राति’ शब्दले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयलाई जनाउँछ ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा मानिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ । ५० देखि १०० मिलिमिटरसम्म वर्षा भएमा भारी, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षा भनिन्छ ।

त्यस्तै, एक–दुई स्थानमा वर्षा हुन सक्छ भनिएको खण्डमा सम्बन्धित प्रदेशको १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्ने सम्भावना जनाइएको हुन्छ ।

१० देखि ३० प्रतिशत क्षेत्रफलमा वर्षा हुने देखिएको खण्डमा थोरै स्थानमा पानी पर्न सक्छ भनिन्छ । ३० देखि ५० प्रतिशत भूभागमा वर्षाको सम्भावना भए केही स्थानमा, ५० देखि ८० प्रतिशत क्षेत्रफलभित्र वर्षा देखिए धेरै स्थानमा र ८० प्रतिशतभन्दा बढी भूभागमा सम्भावना देखिए अधिकांश स्थानमा वर्षा हुने भनिन्छ ।