१९ असोज, काठमाडौं ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव कायमै रहेकाले देशका केही भागहरूमा अझै पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यद्यपि, काठमाडौं उपत्यकामा ठूलो वर्षा गराउने प्रणाली कमजोर भइसकेको र सो प्रणाली पूर्वतर्फ कोशी प्रदेशतिर सरेको मौसमविद्को भनाइ छ ।
विभागका वरिष्ठ मौसमविद् मीन कुमार अर्यालका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा अब ठूलो वर्षाको जोखिम टरेको छ ।

उनका अनुसार अहिले वर्षा गराउने प्रणाली कोशी प्रदेशमा सक्रिय रहेको छ । यसको प्रभावले पाँचथर, इलाम, झापा हुँदै चतरा आसपासका तराई भूभागहरूमा भारीदेखि अति भारी वर्षा भएको छ ।

अर्यालले भने, “आज पनि कोशी प्रदेशका केही स्थानहरूमा आइसोलेटेड (छरिएर) रुपमा भारी वर्षाको सम्भावना रहे पनि दिउँसोदेखि प्रणाली क्रमशः कमजोर हुँदै जानेछ ।”

मधेश प्रदेशमा पनि अझै पानी पार्ने बादल देखिए तापनि हिजोको तुलनामा भारी वर्षाको सम्भावना कम रहेको उनले जानकारी दिए ।

विभागका अनुसार गएको २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँहरूमा भारीदेखि अति भारी वर्षा मापन गरिएको छ ।
सबैभन्दा धेरै वर्षा रौतहटको महेशपुर केन्द्रमा ३५१ मिलिमिटर मापन भएको हो ।