काठमाडौँ ।

दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै ६ लाख ११ हजार ६५७ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि यात्रुहरू विभिन्न नाकाबाट उपत्यका बाहिरिएका हुन् । पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जना बाहिरिएका छन् ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, दसैँ सुरु भएसँगै राजधानी छाड्ने नागरिकको सङ्ख्या तीव्र रूपमा बढ्दो छ । पछिल्लो २४ घण्टामा १३ हजार ३२६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका छन् ।

उनले भने, “अहिले राजधानी छाडेर जानेको सङ्ख्या बढेको छ । काठमाडौँ भित्रिने र बाहिरिने नाकाहरूमा सवारी साधन सामान्य रूपमा सञ्चालनमा छन् ।”

घटस्थापनादेखि हालसम्म उपत्यकाबाट बाहिरिएका सवारी साधनको सङ्ख्या १ लाख १३ हजार ४१५ पुगेको छ । यात्रुहरूको मुख्य गन्तव्य पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन् ।

यसैबीच, उपत्यकामा आजसम्म ७७ हजार ५४५ सवारी साधनमार्फत तीन लाख १९ हजार १५ जना मानिस प्रवेश गरेका छन् । विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क र जगती नाकाहरूमा यात्रुको बाक्लो भीड देखिएको ट्राफिक प्रहरीले जनाएको छ ।