काठमाडौँ ।

मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै खसेको सुख्खा पहिरो हटाउन आज दिनभर लाग्ने देखिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । मंगलबार दिउँसो ४:५० बजेतिर तुइन खोला पुल नजिकै ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

डिभिजन कार्यालयले पहिरो पन्छाउनका लागि आज दिनभरजसो समय लाग्ने भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । कार्यालयका अनुसार मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग उपयुक्त मानिएको छ ।

गण्डकी प्रदेश सरकारले यो सडकलाई गौरवको योजना अन्तर्गत राखी निर्माण कार्य अघि बढाइरहेको छ, जसले मुस्ताङदेखि तराई क्षेत्रलाई जोड्ने अपेक्षा गरिएको छ ।

साना सवारीसाधनका लागि उक्त वैकल्पिक मार्ग उपयुक्त रहेको जनाइएको छ । दमौली–खैरेनीटार हुँदै बायाँ मोडिएर भीमाद–मानपुर–डेढगाउँ–वुलिङटार–ढोडेनी हुँदै गैँडाकोट पुग्न सकिने व्यवस्था गरिएको छ ।

मुग्लिनदेखि खैरेनीटारसम्मको दूरी ७० किलोमिटर रहेको छ । खैरेनीटार–भीमाद खण्ड ७ किलोमिटर कालोपत्रे सडक हो भने भीमाद–मानपुर खण्ड ३५ किलोमिटर कच्ची सडक रहेको छ । मानपुर–डेढगाउँ ४० किलोमिटर कालोपत्रे रहेको र डेढगाउँदेखि नारायणगढसम्म ७० किलोमिटर दूरी रहेको छ ।

यस सम्बन्धमा थप जानकारीको लागि जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनाल (मो. ९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङ (मो. ९८५५०९२२००) तथा सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्य (मो. ९८५५०९२२१८) लाई सम्पर्क गर्न आग्रह गरिएको छ ।