कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं.९ मा रहेको कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहले केही महिनाअघि करिब १५ लाख रुपैयाँ लगानीमा सुरु गरिएको डुंगा सञ्चालन योजना केही महिनामै ठप्प भएको छ।पर्यटकीय सम्भावनालाई ध्यानमा राखी बनाइएको पोखरीमा डुंगा सञ्चालन थालिएको भए पनि केही महिनामै पानी सुक्न थालेपछि डुंगा सञ्चालन असम्भव बन्यो। हाल उक्त डुंगा सामुदायिक वनको कार्यालय अगाडि थन्क्याएर राखिएको छ, भने डुंगा सञ्चालन गर्न बनाइएको पोखरीमा पानी नै छैन।

उक्त सामुदायिक वनका उपभोक्ताहरुका अनुसार योजना प्रारम्भमै पर्याप्त पूर्वतयारी र दीर्घकालीन सोचको अभाव, साथै पारदर्शिताको कमीले गर्दा योजना असफल र बालुवा माथि पानी खनाए जस्तो भएको हो।सामुदायिक वनका अध्यक्ष कुन्तामणि भुषालमाथि आर्थिक अनिमितता र एकल निर्णयमार्फत योजना सञ्चालन गरेको आरोप लागेको छ। उपभोक्ता समूहभित्रका सदस्यहरूले बैठकमा नबोलाउने, निर्णय प्रक्रियामा सहभागी नगराइने र वनभित्रका गतिविधिबारे जानकारीसमेत नदिइने गुनासो गरेका छन्।

हामीलाई बैठकमा बोलाइँदैन, निर्णयहरू कसरी लिइन्छन् भन्ने थाहा हुँदैन। सबै निर्णय अध्यक्ष आफैंले लिएको जस्तो देखिन्छ,एक समिति सदस्यले नाम गोप्य राख्ने शर्तमा बताए।स्थानीय बासिन्दाहरूले सार्वजनिक स्रोतको सदुपयोगमा पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्न माग गरेका छन्। अब यसबारे थप छानबिन र उत्तरदायित्वको माग बढ्दो छ।