कपिलवस्तु । बाणगङ्गा आयुर्वेद औषधालयमा “जनतासँग नगरप्रमुख” कार्यक्रम अन्तर्गत पाक्षिक आयुर्वेद चिकित्सकीय सेवाको शुभारम्भ भएको छ। यस सेवाको सुरुवातसँगै प्रत्येक महिनामा दुई पटक, ४ र २१ गते, आयुर्वेद विशेषज्ञद्वारा नियमित चेकजाँच गरिने छ। पहिलो दिनमै आयोजना गरिएको विशेषज्ञ शिविरमा २०९ जनाले निशुल्क चेकजाँच गरी औषधि सेवा प्राप्त गरेका छन्, जसमा १५० पुरुष र ५९ महिला रहेका छन्।

बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले पछिल्लो समयमा सर्वसाधारणहरू आयुर्वेदिक उपचारप्रति आकर्षित भएको बताउनु भएको छ । उहाले शिविर बाट ज्येष्ठ नागरिक र नगरवासीलाई महत्त्वपूर्ण सहयोग पुगेको समेत बताउनु भयो । त्यसैगरी बाणगंगा नगरपालिकाकी नगर उपप्रमुख रिता कुमारी थारूले रोग प्रतिरोधात्मक क्षमताको अभिवृद्धिका लागि आयुर्वेदिक औषधि निकै प्रभावकारी भएको र बिरामीहरूको सङ्ख्या बढ्दै गएको बताउनु भयो ।

उक्त शिविरमा पाइल्स, फिसर, गानोगोला, कब्जियत, हड्डी भाँचिएको, नसा च्यापिएको, बाथ, सुगर, र प्रेसर जस्ता समस्याहरूको जाँच गराउने सेवा उपलब्ध गराइएको बाणगङ्गा आयुर्वेद औषधालय शाखाका प्रमुख तेजबहादुर सोमैले जानकारी दिनु भयो।लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलका प्रमुख प्रवेश श्रीवास्तव, कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका डा. नलिननाथ तिवारी, डा. आशिष चौधरी, र गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका बालरोग विशेषज्ञ अर्जुनराज शर्माले बिरामीहरूको चेकजाँच गरेको जनाइएको छ ।

वडा नं. ८ का वडा अध्यक्ष बाबुराम अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य वरिष्ठ वैद्य अनुपमा पराजुलीले दिनु भएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, शाखा अधिकृत केशवराज भट्टराई, र मोतिपुर स्वास्थ्य चौकीका इन्चार्ज हिमलाल घिमिरे लगायतको उपस्थिति रहेको थियो ।