गुल्मी ।

रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएका छन् ।मंसिर ७ गते परेको हरिबोधनी एकादशीको अवरसमा २ वटा स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल र गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले सूचना जारी गर्दै रेसुङ्गामा ठुलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय उल्लेख गरेका छन् ।

एकादशीको दिन जिल्लाको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीयस्थल रेसुङ्गामा ठूलो मेला लाग्ने गर्दछ ।मेलालाई व्यवस्थित रुपमा मनाउनको निम्ति कार्यपालिकाको बैठकको निर्णय अनुसार नगर, गाउँपालिका भित्रका संस्था, कार्यालयहरु, माताहतका वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक संघ संस्थाहरुमा बिदा दिने निर्णय गरेका हुन् ।

अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारको काम भइरहेको छ ।रेसुङ्गा पोखरीमा नुहाएमा भुल गरेर गरेको पाप नष्ट हुने मान्यता रहिआएको छ ।रेसुङ्गामा दैनीक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशीलगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्दछ ।

यस वर्ष रेसुङ्गा नगरपालिकाले पर्यटकको चहलपहल बढाउन भन्दै ‘जाऔं हिंड रेसुङ्गा’ अभियान पनि सञ्चालन गरेको छ ।